सरकारको प्राथमिकताः आर्थिक विकास र सम्वृद्धि

काठमाण्डौ, २९ जेष्ठ ।
सरकारले आर्थिक विकास र सम्वृद्धिका योजनाहरुलाई तिब्रताका साथ अघि बढाउने भएको छ । राजनीतिक तरलताका बावजुत पनि आर्थिक विकास र सम्वृद्धिका योजनाहरुलाई निरन्तरता दिईराख्न सरकार प्रतिबद्ध भएको प्रधानमन्त्री डा. बावुराम भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो ‘आर्थिक विकास र सम्वृद्धिका कामलाई तिब्र गतिमा अगाडि बढाउन सरकार पुर्णरुपले प्रतिवद्ध भएर लागेको छ ।’

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनालाई कुनै पनि साधन स्रोतले कमि हुन नदिने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । राष्ट्रिय गौरवका योजनाहरुलाई तिब्र गतिमा पूर्णता दिलाउन सरकारले विशेष ध्यान केन्द्रीत गरेको पनि उहाँले बताउनु भयो । विकासका लागि लगानी बोर्ड गठन गरिएको बताउँदै उहाँले योजनाहरुमा राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने प्रयत्न भएको बताउनु भयो । विकासका लागि राष्ट्रिय अन्तराष्ट्रिय लगानी भित्र्याउने कामलाई निरन्तरता दिन लगानी बोर्डलाई निर्देशन दिईएको प्रधानमन्त्रीको भनाई थियो । उहाँले आर्थिक एजेण्डामा कुनै पनि हालतमा सुस्तता आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी योजना निरीक्षण गर्न प्रधानमन्त्री जाँदै
आर्थिक विकास र सम्वृद्धिका कामहरुलाई तिब्रता दिने बताउँदै आउनुभएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले राष्ट्रिय महत्वका योजनाहरुको स्वयम् निरीक्षण गर्नु हुने भएको छ । विकासका निम्ति सरकारले विशेष ध्यान दिने र निर्माणमा तिब्रता दिने निर्णय अनुसार प्रधानमन्त्रीले निरीक्षण र निर्देशन भ्रमण गर्न लाग्नु भएको हो ।

यसै क्रममा सोमबार उपल्लो तामाकोशी जलविद्युत योजना र मेलम्ची खानेपानी योजनाको निरीक्षण गर्दै हुनुहुन्छ । नेपालकै योजना व्यवस्थापन र साधानस्रोतमा निर्माण हुन लागेको उपल्लो तामाकोशी जलविद्युत योजनाको निरीक्षण र आवश्यक निर्देशन दिनका लागि प्रधानमन्त्री त्यहाँ जान लाग्नु भएको छ । उपल्लो तामाकोशी आफ्नै खुट्टामा उभिने महत्वपूर्ण जलविद्युत योजना हो ।   

यता लामो समय देखि सुस्त गतिमा रहेको मेलम्ची खानेपानी योजनाको पनि सोमबारनै प्राधानमन्त्रीले निरीक्षण गर्ने कार्यक्रम रहेको छ । काठमाण्डौको खानेपानी समस्या समाधान गर्नका निम्ति मेलम्ची खानेपानी योजनालाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको उहाँको धारणा छ । मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेर त्यसका कमिकमजोरी हटाउन र कामलार्ई तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनुहुने छ ।

यस अगाडि काठमाण्डौको सडक विस्तारको कामलाई बर्षात अगाडिनै पूर्णता दिन प्रधानमन्त्रीले निर्देशन दिई सक्नु भएको छ । सडक विस्तार सँगै काठमाण्डौमा लामो समय देखि रहँदै आएको ट्राफिक जाम, पैदल यात्रुहरुको समस्या समाधान हुने विश्वास लिईएको छ । सुकुम्वासीको पुर्नस्थापनालाई पूर्णता दिनका लागि पनि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नु भएको छ ।