कुर्सीको हानथापमा म छैन– प्रधानमन्त्री

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ– व्यवसायी
काठमाण्डौ, १४ असार ।
राष्ट्रिय सहमतिको पहल गर्नका लागि नागरिक समाजका अगुवा, विभिन्न दलका युवा नेताहरुसँग छलफल गरि सक्नु भएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको  छ ।

छलफलका क्रममा प्रधानमन्त्रीले सहमति र निकासका लागि उद्योगी व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीको कुर्सीको हानथापमा आफू नभएको बताउँदै उहाँले सहमति खोज्न आफू सँधै तत्पर भएको उल्लेख गर्नु भयो । दलहरुले अहिले आवेग र आक्रोस पोखे पनि निकासका लागि सहमतिमा आउने प्रधानमन्त्रीको विश्वास थियो ।

प्रधानमन्त्रीले मुर्त सहमति आजको आवश्यकता भएको बताउँदै सर्वोच्चको आदेशमा टेकेर संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउनु भयो । उहाँले निर्वाचनको अर्को विकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।

देश विकास, आर्थिक सम्वृद्धिका लागि आफू सँधै प्रतिवद्ध रहेको बताउँदै उहाँले यसो भएमा मात्र गरिवी, वेरोजगारी असमानता जस्ता विषयको अन्त्य हुने औल्याउनु भयो । दुई अंकको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजि क्षेत्रले गर्न जरुरी भएको बताउनु भयो । सरकार र नीजि क्षेत्रबीच एक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

बजेटको कुरामा धेरै अल्मलिन नहुने बताउँदै प्रधानमन्त्रीले पूर्ण बजेटनै ल्याउनु पर्ने बताउनु भयो । बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नभएको उहाँको भनाई थियो । राजनीतिक सहमतिमा अध्यादेश मार्फतनै बजेट ल्याईने पनि उहाँले बताउनु भयो । उद्योग कलकारखाना बन्द हुने कुरा चिन्ताको विषय भएको बताउँदै उहाँले बन्द उद्योग खुलाउन राज्यले सवै पहल गर्ने बताउनु भयो । उद्योग बन्द गर्दा राज्य, व्यवसायी र जनता कसैलाई पनि फाईदा नपुग्ने उहाँको धारणा थियो । रुग्ण उद्योगहरुलाई पनि खुलाउने तर्फ सरकार रहेको उहाँको भनाई थियो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले संक्रमणकालिन अवस्था लामो हुँदा नीजि क्षेत्र प्रभावित बन्दै गइरहेकाले तत्काल निकासका लागि लाग्नुपर्ने बताउनु भयो । सहमति, समझ्दारीमा नै निकास खोज्नुपर्ने उहाँको धारणा थियो । बजेटको अन्यौलता पनि हट्नुपर्नेमा उहाँको जोड थियो । महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले औद्योगिक विकास हुन सकेन भने देश विकास हुन नसक्ने बताउनु भयो । उहाँले विकासका लागि राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागि व्यवसायीहरुले प्रधानमन्त्रीलाई पूर्ण बजेट ल्याउन सुझाव दिएका थिए । उनीहरुले प्रधानमन्त्री जो सुकै भए पनि काम गर्ने अवसर दिनु पर्ने बताए । सत्ताको खेलमा नलागि स्वतन्त्र पूर्वक काम गर्ने वातावरण हुनुपर्नेमा उनीहरुको जोड थियो ।