सेना समायोजन प्रक्रिया सम्मानजनक रुपमा अगाडि बढ्छ— प्रधानमन्त्री

काठमाण्डौं, २३ असार ।
प्रधानमन्त्री तथा सेना समायोजन विशेष समितिका संयोजक डा. बावुराम भट्टराईले सेना समायोजन प्रक्रिया सम्मानजनक रुपमा अगाडि बढ्ने बताउनु भएको छ ।    

शनिबार विहान बालुवाटारमा भेटघाटको लागि आएका पार्टी कार्यकर्ताहरुलाई चितवनको शक्तिखोर लगायतका शिविरहरुमा लडाकुहरुले उठाएका प्रश्नबारे स्पष्ट पार्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले समायोजन प्रक्रियामा केही समस्या देखिए पनि सम्बन्धित सबै पक्षसँग आफूले गम्भिर रुपमा छलफल चलाईरहेको जानकारी दिनुभयो । उहाँले सम्मानजनक समायोजन हुनेकुरामा कुनैं शंका नगर्न आग्रह गर्दै संयमित बन्न सवै पक्षलाई आग्रह गर्नुभयो ।

समायोजनको क्रममा देखिएका प्राविधिक समस्यालाई छलफलको माध्यमबाट टुंग्याईने बताउँदै छलफल सकारात्मक किसिमबाट अगाडि बढेको प्रधानमन्त्रीले बताउनुभयो ।

मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिरहेका बेला प्रतिक्रियावादीहरुले गर्न खोज्ने चलखेलतर्फ अग्रगमनकारी शक्तिहरु सचेत र विवेकपूर्ण ढंगबाट अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।