पूर्व संविधानसभामा प्रतिनिधित्व गरेका सवै राजनीतिक दलहरु सँग छलफल हुने

काठमाण्डौ, २५ असार ।
राष्ट्रिय सहमति, सहकार्य र एकताको लागि विभिन्न पहल गर्दै आउनुभएका प्रधानमन्त्री डा. बावुराम भट्टराईले पूर्व संविधानसभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलहरु सँग छलफल गर्नको निम्ति बैठक बोलाउनु भएको छ । छलफल बजेट, निर्वाचन र मुलुकलाई राजनीतिक निकास दिनका निम्ति राष्ट्रिय समझदारी कायम गर्ने गरि केन्द्रित् हुनेछ । बैठक भोलि मंगलवार विहान ८ बजे प्रधानमन्त्री कार्यलय, सिंहदरवारमा वस्नेछ । राष्ट्रिय एकता, स्वाधीनता र मुलुकको आर्थिक विकासमा सबै राजनीतिक दलहरु वीचमा एकता हुनु पर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।

यस अगाडि पनि प्रधानमन्त्रीले सहमति जुटाउनको लागि राजनीतिक दलका प्रमुखहरु, पुर्व प्रधानमन्त्रीहरु, नागरिक समाज तथा उद्योगि व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु सँग छलफल गर्दै आउनुभएको थियो ।

सहमति र सहकार्यका लागि दलहरुको बीचमा सहमति भए प्रधानमन्त्रीले जस्तोसुकै त्याग गर्ने बताउनु भएको छ । दलहरुको बीचमा हुने मूर्त सहमतिको आफुले सम्मान गर्ने उहाँले बताउनुभएको छ । संवैधानिक मर्यादा भित्र सहमति गरेर अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । प्रधानमन्त्रीको पछिल्लो पहलले सवैतर्फ आसा जगाएको छ । राजनीतिक दलहरु पनि यो पहल प्रति सकारात्मक देखिएका छन् ।

संविधानसभाको विघटन भए देखि दलहरुको बीचमा बन्द भएको सम्वादको वातावरण यो छलफल सँगै खुल्ने विश्वास लिईएको छ । संविधानसभाको स्वत विघटन भए पछि सरकारले मंसिर ७ गतेको लागि निर्वाचनको मिती तय गरेको थियो । लोकतन्त्रमा विश्वास राख्नेहरु निर्वाचनमा जानुको विकल्प नभएको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ । संविधानसभाको विकल्प संविधानसभा नै हुने र लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै उहाँले दलहरुको बीचमा सहमति गरेर गतिरोधको अन्त्य गर्नेु पर्नेमा जोडि दिनुभएको छ ।