नेपाल र चीनबीच आर्थिक सम्वन्ध विकास गर्न जरुरी– प्रधानमन्त्री

काठमाण्डौ, २९ साउन ।
चीनिया उप–विदेशमन्त्री फु यिङले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट वार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटवार्ताको क्रममा प्रधानमन्त्री डा. भट्टराईले नेपाल एक चीन नीतिको पक्षमा उभिएको बताउनु भयो । उहाँले तिब्वतको संवेदनाशिलता र सुरक्षाको चासोको नेपालले सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालको भूमि कुनै पनि छिमेकी देशको विरुद्धमा प्रयोग हुन दिँदैनौं भन्ने हाम्रो मान्यता हो ।’

प्रधानमन्त्री डा. भट्टराईले नेपाल र चीनबीच रहेको राजनीतिक सम्वन्धलाई आर्थिक सम्वन्धकोरुपमा माथि उठाउन जरुरी भएको बताउनु भयो । उहाँले नेपाल र चीनबीच यातायात, सञ्चार, रेल, हवाईमार्ग विस्तार गर्ने कुरामा विषेश जोड दिनुपर्ने बताउनु भयो ।

नेपालले चीनिया लगानी भित्र्याउन प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री डा. भट्टराईले केही परियोजनाहरु चीनिया लगानीमा बन्दै गरेको बताउनु भयो ।  जलविद्युतको क्षेत्र, पूर्वाधार निर्माणको क्षेत्र, लुम्बिनी लगायतका पर्यटन विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न राम्रो हुने प्रधानमन्त्रीले बताउनु भयो । पश्चिम सेती, पोखरा विमानस्थल चीनिया लगानीमा निर्माण गर्न लागिएको तर्फ पनि प्रधानमन्त्रीले ध्यानाकर्षण गराउनुभयो ।

नेपालले चीन र भारत    दुई छिमेकीको बीचमा सन्तुलित सम्वन्ध बढाउन चाहेको बताउनु भयो । उहाँले दुई छिमेकी बीचमा नेपालले सन्तुलित सम्वन्ध राख्दै गतिशिल पुलको रुपमा विकास गर्न चाहेको बताउनु भयो । प्रधानमन्त्री वेन जीया वाओको नेपाल भ्रमणले नेपाल चीन सम्वन्धलाई माथि उठाउन आधारसिला खडा गरेको बताउनु भयो । प्रधानमन्त्रीले नेपाल एकल ध्रुवीय विश्व होईन वहुल ध्रुविय विश्वको पक्षमा रहेको बताउनु भयो ।

चीनिया उप–विदेशमन्त्री यिङले प्रधानमन्त्री वेन जीया वाओको तर्फबाट प्रधानमन्त्री डा. भट्टराईलाई चीन भ्रमणको निम्तो दिनुभयो । प्रधानमन्त्री डा. भट्टराईले उहाँलाई धन्यवाद दिँदै उपयुक्त समयमा चीन भ्रमण गर्ने बताउनु भयो ।  यिङले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ताबारे चीनको निरन्तर समर्थन रहने बताउनु भयो । उहाँले नेपाली हस्तकलाको चीनमा राम्रो बजार रहेको बताउँदै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । चीनको तर्फबाट लगानी बढाउन आफूहरु इच्छुक रहेको उहाँले बताउनु भयो । उप–विदेशमन्त्री यिङले भारतसँग प्रतिस्पर्धी होईन सहयोगात्मक सम्वन्ध विकास गर्ने चीनको नीति रहेको बताउनु भयो । चीन, भारत, भुटान, नेपाल लगायतका देशहरु मिलेर अगाडि बढ्दा क्षेत्रीय स्तरमा हित हुन्छ भन्ने चीनको मान्यता भएको उहाँको धारणा रहेको थियो ।    

यो पछिल्लो नेपाल–चीन उच्चस्तरीय वैठकले दुइ देशबीचको सम्वन्धलाई नयाँ उचाईमा उठाउन महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीले बताउनुभयो ।