बाबुराम नयाँ पुष्पलाल ?
बिश्वदिप पाण्डे
केही सातायता माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईबारे सञ्चारमाध्यममा सकारात्मक/नकारात्मक विविध खालका टिकाटिप्पणी भइरहेका छन् । लोकतान्त्रिक गणतन्त्रको नारा बुलन्द पारेबापत कुनै बेला पार्टीभित्र कारबाहीमा परेका नेता भट्टराईको पक्षमा जनलहर पार्टीभित्र र बाहिर व्यापक रूपमा बढ्दै गएको छ । इतिहासले आज भट्टराईको \'लोकतान्त्रिक गणतन्त्र\'को अडान अन्ततः सही सावित गरिदिएको छ । उहाँले उठाएको लोकतान्त्रिक गणतन्त्रको नारा आज माओवादी पार्टीभित्र मात्र होइन, सारा नेपाली जनताको साझा नारा बनेको छ । विडम्बना, लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न/गराउन जसले अग्रपंक्तिमा रहेर सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्यो, उसैलाई आज पार्टीभित्र र बाहिरका अवसरवादी र प्रतिगामी तत्त्वहरूले पर्दाभित्र बसेर गणतन्त्रविरोधी भनेर सावित गर्न गोयबल्स शैलीमा असफल अराजनीतिक कुचेष्टा गरिरहेका छन् । यसलाई भट्टराईले कति गम्भीर रूपमा लिनुभएको छ भन्ने आम जनचासोको विषय बनेको छ । उहाँले प्रतिवाद गर्नुको सट्टा मौन किन बस्नुभएको होला, उहाँका शुभचिन्तकहरूको गुनासो छ ।
कसैले राजा ज्ञानेन्द्र र कट्टर दरबारियाहरूले \'संघीय लोकतान्त्रिक गणतन्त्र\'को वकालत गरे भनेर हल्ला गर्छ र त्यसलाई कसैले पत्याउँछ भने त्योभन्दा ठूलो राजनीतिक विडम्बना के हुनसक्छ ? त्यस्तै कट्टर गणतन्त्रवादी नेता जसले सधैं लोकतान्त्रिक गणतन्त्र स्थापनानिम्ति कडा संर्घष् गर्नुपर्यो, उसैले \'सांस्कृतिक राजा\'को वकालत गर्यो भनेर हौवा पिट्दै कोही हिंड्छ भने प्रस्ट छ, भट्टर्राईले होइन, हौवा पिट्नेहरू \'सांस्कृतिक राजा\' चाहन्छन् । उहा“को क्रान्तिकारी छविमा आ“च पुर्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने अवसरवादी प्रवृत्तिको राम्रोसँग संकेत गर्छ, यसखालका प्रवृत्तिले । अनि सत्य-तथ्य नबुझी ती हौवाको पछि लाग्नेहरूलाई के इतिहासले माफ गर्ला ? कतै भट्टर्राईलाई \'नयाँ पुष्पलाल\' त बनाउन खोजिएको छैन, बेलैमा क्रान्तिकारी जनता र कार्यकर्ता सजग रहनु आवश्यक छ ।
त्यस्तै कतिपयले जानेर या नजानेर पार्टीभित्र दोस्रो हुने दौडमा बाबुराम भनेर \'कु-प्रचार\' गर्न खोज्दैछन् । उहाँको व्यक्तित्व, स्तर, क्षमता, बौद्धिकता, त्याग कसैसामु छिपेको छैन । उहा“को जीवन खुला किताबसरह छ । अनि किन हामी भट्टर्राईको त्यागलाई गिज्याउने कोसिस गर्दैछौं ? किन हामी हाम्रो दर्रि्रपनलाई उदांगो पार्नतिर उद्यत छौं ? नेपाली क्रान्ति र जनयुद्धमा सबै नेता/कार्यकर्ताले उत्तिकै त्याग, बलिदान गरेका छौं, बौद्धिकतामा पनि उत्तिकै विकास गरेका छौं । क्रान्तिलाई यो उचाइमा पुर्याउन हामी सबैको बराबरी मिहेनत होला । तर माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टर्राईको एउटा कुशल नेतृत्वमा हुनुपर्ने क्षमता, व्यक्तित्व, बौद्धिकता र त्याग हामी छुन सक्दैनौं ।
त्यस्तै उहाँलाई \'भारतपरस्त\' भनेर अर्को आरोप लगाउने गरिएको छ । यो आफैंमा पाखण्ड र आफूमा रहेको अक्षमता र हीनताबोधको अभिव्यक्ति हो । कोही भारत बसेर पढ्यो भन्दैमा उसलाई भारतपरस्त भन्न मिल्छ ? कहाँको राजनीतिक नैतिकता हो यो ? यो आरोप राजनीतिक पर्ूवाग्रह सिवाय अरू केही हुनै सक्दैन । उहाँको बौद्धिकता र क्षमतासग प्रतिस्पर्धा गर्न नसक्नेहरूले डाह, जलन र इष्र्याका कारणले पनि यो आरोप लगाउने गरेका छन् । यो आरोप प्रमाणसहित पुष्टि गर्न हामी चुनौती दिन चाहन्छौं । उहाको राजनीतिक छवि र उनको बढ्दो लोकप्रियताबाट अत्तालिएका \'बेइमान क्रान्तिकारी\'हरूद्वारा अरूलाई झूटो आरोप लगाएर आफूलाई बढी क्रान्तिकारी देखाउन जनतालाई छरिएको भ्रमसिवाय यो अरू केही हुनै सक्दैन ।
राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा वैचारिक र व्यावहारिक रूपले स्पष्ट दृष्टि भएको व्यक्ति उहा हुनुहुन्छ । मोहनविक्रमले \'गद्दार पुष्पलाल\' भन्ने पुस्तक लेख्ने सर्न्दर्भमा पनि पुष्पलाललाई \'भारतपरस्त\' र \'कांग्रेसपरस्त\' भनेर आरोप लगाएका थिए । उनको त्यो आरोप र विरोध इतिहासले गलत थियो भन्ने पुष्टि गरिसकेको छ । त्यसकारण राजनीतिक रूपले वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेहरूले यो वा ऊ परस्त, दलाल र गद्दार भनेर आफूलाई सही सावित गर्न प्रयत्न गरे पनि इतिहासले स्वयम् उनीहरूलाई गलत सावित गरिदिएको इतिहास प्रस्टै छ । त्यस्तै \'नया मोहनविक्रम\'हरू नेता भट्टर्राईलाई \'नया गद्दार पुष्पलाल\' बनाउने व्यापक तयारीमा छन् । त्यसकारण कुनै व्यक्तिलाई कतिपय सर्न्दर्भमा कसले के भन्छ/भन्दैन भन्ने प्रश्न प्रधान होइन, उसले के गर्छ/गर्दैन भन्ने प्रश्नका आधारमा उसको मूल्यांकन गरिनुपर्छ ।
भट्टर्राईले अहिलेसम्म गरेका कामहरूको आधारमा भारतपरस्त भनेर पुष्टि गर्नसक्ने प्रमाण कसैसित छैन र कसैले पुष्टि पनि गर्न सक्दैन किनकि झूटोको प्रमाण हुनै सक्दैन । निरंकुश तानाशाही पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्यका लागि नेपाली कांग्रेससंग कार्यगत एकता गर्नुपर्छ भनेकै कारणले मोहनविक्रमले पुष्पलाललाई \'गद्दार\' भनेका थिए । अहिलेसम्म पुष्पलालको विचारले समग्र राजनीतिक आन्दोलनको नेतृत्व गरेको कुरा ०४६ सालको आन्दोलन र १२ बुदे समझदारीदेखि अहिलेसम्मका राजनीतिक घटनाक्रमले पुष्टि भएको छ । पछिल्लो चरणमा नेपालमा सामन्तवाद र राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्यनीतिको अग्रणी नेता डा बाबुराम भट्टर्राई नै भएको स्पष्ट छ ।
१२ बुदे समझदारी र अहिलेसम्मको कार्यनीतिको सफल प्रयोग गर्ने एकजना प्रमुख व्यक्तित्वको रूपमा पनि उहाको नाम आउछ । राजतन्त्र अन्त्य गर्न र गणतन्त्र ल्याउन विभिन्न राजनीतिक पार्टर्ीीथै विदेशी शक्तिकेन्द्रहरूबीच कुशलतापूर्वक वैचारिक सहमति कायम गर्न महत्त्वपूर्ण जिम्मेवारी उहाले निर्वाह गरेको जगजाहेरै छ । त्यसैकारणले उहाको वैचारिक र कूटनीतिक कुशलतासामु पराजित मानसिकताबाट ग्रसित व्यक्तिहरूले उहालाई यो वा ऊ भनेर चरित्रहत्या गर्ने प्रयत्न गरेका छन् । त्यसैले सबै सच्चा क्रान्तिकारीहरूले यस्ता \'नक्कली क्रान्तिकारी\'हरूको षडयन्त्रलाई बेनकाव गर्न सकिएन भने उहाको मात्र होइन, सिङ्गो माओवादी आन्दोलन र जनयुद्धकै अपमान हुनेछ ।
भट्टर्राईजस्ता नेता क्रान्तिकारी आन्दोलनमा पाउनु ठूलो कुरा हो । उहाँको सम्मान र उहाका विचार संरक्षण गर्नुको सट्टा पर्दाभित्र बसेर उहाँको बदनाम गर्नुले के क्रान्ति सम्पन्न गर्न सकिएला त ? यस्तो बाँदरे प्रवृत्ति किन ? एकपटक सम्बन्धित सबैले व्यक्तिगत स्वार्थ र पदलोलुपतामा नपरी सिङ्गो क्रान्ति र जनताको बलिदान सम्झिएर गम्भीर भएर सोच्ने हो भने सत्यतथ्यको बोध हुनेछ ।
लेखक, नेकपा (माओवादी) सँग सम्बद्ध छन् ।
समाचार
अरुको आँखामा
अन्तवार्ता