काठमाण्डौ, २८ वैशाख : प्रधानमन्त्री तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता डा.बाबुराम भट्टराईले कुटनीतिक तथा दातृ निकायका प्रतिनिधिहरुसंग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान भएको छलफलमा स्थानीय बिकाश नियोग, कुटनीतिक नियोग तथा दातृसंस्थाका २५ प्रतिनिधि सहभागी रहेका थिए ।
भेटमा प्रधानमन्त्रीको राजीनामासंगै स्थगित गरिएको नेपाल विकास मंचको बैठकवारे प्रतिनिधिहरुले चासो ब्यक्त गरेका थिए । डा.भट्टराईले बदलिएको राजनीतिक घटनाक्रमले विकास मंचको बैठक स्थगित गर्नु परेको भन्दै वैठकलाई नयाँ ढंगले निरन्तरता दिने र छिट्टै नै पुनः वोलाइने जानकारी दिनुभयो ।
आगामी दिनमा अन्तर्राष्ट्रिय समुदाय र विभिन्न दातृ निकायहरुको निरन्तर सकारात्मक सहयोगको आफुहरुले अपेक्षा गरेको डा.भट्टराइले बताउनुभयो ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि चर्चा भएको नेता भट्टराईले बताउनु भयो । आफुहरु छिट्टैनै राजनीतिक द्धन्दको अन्त्य गरेर शान्ति र लोकतन्त्र स्थापनाको निम्ति प्रतिवद्ध रहेको नेताद्वयले प्रतिनिधिहरुलाई जानकारी गराउनुभयो । उहाँहरुले नागरिक सर्वोच्चताको प्रश्न र राष्ट्रपतिले संविधान मिचेको प्रश्न सच्चिनासाथ नयाँ सरकार निर्माणको प्रक्रिया थालनी हुने बताउनु भएको थियो ।
राजदुत र विभिन्न दातृनिकायहरुका हालै सार्वजनिक गरिएको अध्यक्ष प्रचण्डको टेप प्रकरणको जिज्ञासामा आफुहरुले केन्द्रीय सेना, क्षेत्रीय सेना र स्थानीय जनमिलिसिया सेना गर्दा १ लाख भन्दा वढी सेना आफुहरुसंग रहेको प्रष्ट पार्नु भएको थियो । प्रमाणिकरणको वेला केन्द्रीय र क्षेत्रीय स्तरका जनसेना जसको संख्या २५-३० हजार मात्रै प्रमाणिकरण गरिएको आफुहरुले स्पष्ट पारिएको डा. भट्टराईले बताउनु भएको थियो । 'त्यहाँ उपस्थित सबै प्रतिनिधिहरु यस विषयमा प्रष्ट तथा सन्तुष्ट भएको हामीले पायौं -डा. भट्टराईले भन्नुभयो ।
विश्व बैंक, एशियाली विकास बैंक, डि.एफ्.आइ.डि, यु.एन्.डि.पि र अमेरिका, वेलायत लगायतका विभिन्न देशका राजदुतहरुको उपस्थिति थियो ।