संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
केन्द्रीय समिति
प्रेस-विज्ञप्ति
राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी, नागरिक सर्वोच्चताको वहाली, शान्ति तथा संविधान निर्माणको ग्यारेन्टी लगायतका मागहरुलाई लिएर आव्हान् गरिएको तीन दिनको आम् हड्तालको दोश्रो दिन -पौष ६ गते)को कार्यक्रम देशैभर शान्तिपूर्ण तवरले भव्य रुपमा सम्पन्न भएको छ । त्यसकालागि संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल सम्पूर्ण देशवासी दिदीवहिनी तथा दाज्यूभाइहरुलाई पुनः एक पटक हार्दिक धन्यवाद दिन चाहन्छ । यो चरणको कार्यक्रमको अन्तिम दिन भोलि पौष ७ गतेको आम हड्ताल दिउँसो १२ः०० वजे पछि देशैभर जुलुसप्रदर्शन र आमसभामा परिणत भई सम्पन्न हुने कुरा हामी सवैलाई जानकारी गराउन चाहन्छौं ।
काठमाण्डौं उपत्यकामा काठमाण्डौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानका जुलुसहरु दिउँसो १ बजे नयाँ बानेश्वर चोकमा आमसभामा परिणत हुनेछन्, जसलाई एकीकृत ने.क.पा.(माओवादी)का अध्यक्ष क.प्रचण्ड लगायतका वक्ताहरुले सम्वोधन गर्नुहुनेछ । सो कार्यक्रममा ठूलो संख्यामा सहभागी भई नागरिक सर्वोच्चता, शान्ति, संविधान र अग्रगमनका पक्षमा ऐक्यावद्धता जाहेर गर्नुहुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आग्रह गर्दछौं ।
२०६६ पुस ६ गते
..............................
बाबुराम भट्टराईं
अध्यक्ष
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल