अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
...
 
एनेकपा मा'वादीको नीति के हो?
शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र संविधानसभाबाट अग्रगामी संविधान बनाउनु एनेकपा मा'वादीको आधिकारिक नीति हो।

तपाईंकै भनेर बुझ्िाने सशस्त्र विद्रोहको लाइन छाडेर बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिबाट अगाडि बढ्ने चुनवाङ बैठकबाट पारित लाइनमा आजको दिनमा पनि मा'वादी अडिग छ र?
पहिलो कुरा सशस्त्र विद्रोहको लाइन छाडेको होइन। जनयुद्ध अपरिहार्य र आवश्यक थियो, जसले नेपाली समाजमा लामो समयदेखि गाडिएका सामन्तवादका जरा भत्काउन ठूलो मद्दत गर्‍यो। अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति-सन्तुलनमा जनयुद्धले गर्ने मोटामोटी काम पूरा भएको छ। सशस्त्र सङ्घर्ष नकारेको नभई त्यसकै उपलब्धिको जगमा टेकेर चुनवाङ बैठकको निर्णयअनुसार संविधानसभामार्फत थप अग्रगमनको बाटो सुनिश्चित गरेका हौं।

पार्टीभित्रको अहिलेको विवाद नीतिगत कि शक्तिका लागि मात्र हो?
यो विवाद नै होइन, जीवन्त पार्टीमा बहस र छलफल हुन्छ। केही अस्पष्टता हुनसक्छन्, केही साथीका बुझ्ाइ र अभिव्यक्तिमा कमी-कमजोरी हुनसक्छन्। मूल रूपमा अहिले पनि संविधानसभाबाट अग्रगामी संविधान बनाएर जाने नै हो। किनकि संविधानसभा पूँजीवादी लोकतन्त्रको एउटा सर्वोच्च रुप हुँदाहुँदै पनि नेपालमा पूँजीवादी शक्तिले नसकेपछि पूँजीवादी क्रान्ति पूरा गर्नुपर्ने दायित्व कम्युनिष्टहरूमाथि नै आएको छ। त्यसकारण अहिले संविधानसभाबाट अधिकतम् प्रगतिशील, जनमुखी, राष्ट्रिय हित अनुकूलको संविधान बनाएर जानु नै सही हुन्छ। संविधानसभाबाट संविधान बनाउनुहुँदैन, संविधानसभा विघटन गर्नुपर्छ भन्ने पार्टीको आधिकारिक सोच होइन।

भनेपछि तपाईंले भने जस्तो लाइनमा पार्टी जान नसक्ने वा जान नहुने भनि आइरहेको धारणा उग्रपन्थी सोच हो?
हाम्रो पार्टीभित्र उग्रपन्थी सोच छ भन्ने मलाई लाग्दैन। तर, कतै निम्न पूँजीवादी क्रान्तिकारीहरूको एउटा वैचारिक अस्पष्टता बेलाबखत देखा पर्ने गर्छ। त्यसले गर्दा संविधानसभाको ऐतिहासिक औचित्य र महत्वलाई नबुझ्िदिने कमी-कमजोरी त हुनसक्छन्, तैपनि हाम्रो पार्टीमा उग्रपन्थी प्रवृत्ति हावी भएर यो बाटो छोड्ने सोच आइसकेको छ भन्ने चाहिँ लाग्दैन। अहिले पनि अधिकांश नेता-कार्यकर्ता, पार्टीपङ्क्ति संविधानसभा महान् जनयुद्धको ठूलो उपलब्धि हो, नयाँ संविधान बनाएर अगाडि बढ्ने बाटोबाट नै देशमा अग्रगमन सुनिश्चित गर्न सकिन्छ भन्नेमा स्पष्ट छ।

जनविद्रोहमार्फत सत्ताकब्जा गर्नुपर्छ भन्ने चाहिं के हो त?
जनविद्रोह पहिलो प्राथमिकता हो भनेर हामीले कहिल्यै भनेका छैनौं, भन्नु उपयुक्त पनि हुँदैन। शान्ति र संविधानको बाटो रोकियो भने त्यसको प्रतिवाद गर्ने, प्रतिरोधका लागि जनविद्रोहसम्म जाने मानसिक तयारी पनि गरिराख्नुपर्छ भन्ने हाम्रो भनाइ हो।

नेताहरूका अभिव्यक्ति सुन्दा त पहिलो र आधिकारिक विकल्प जनविद्रोह नै हो भन्ने बुझिन्छ नि!
त्यो गलत हो। हाम्रो पार्टीले २०६० सालमा नै एक्काइसौं शताब्दीमा जनवादको विकास भन्ने प्रस्तावमार्फत अहिलेको पूँजीवादी क्रान्तिको चरणमा मात्रै होइन, भोलिको समाजवादी क्रान्तिका बेला पनि बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नुपर्छ भन्ने मान्यता विकास गरेको हो। त्यही आधारमा चुनवाङ हुँदै यहाँसम्म आयौं। त्यसैले बहुदलीय प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढ्ने विषयमा पार्टीमा कुनै भ्रम छैन। अहिले पनि हाम्रो पहिलो प्राथमिकता संविधानसभाबाट नयाँ संविधान बनाएरै जाने हो। योभन्दा फरक ढङ्गका विचारहरू पार्टीका आधिकारिक होइनन्।

बहुदलीय प्रतिस्पर्धामा जान नदिइए जनविद्रोहमा जाने भन्नुभयो। यसमा जान कसले रोकेको छ र?
प्रस्टै छ नि! जनयुद्धको जगमा टेकेर भएको जनआन्दोलनपश्चात् संविधानसभा व्यावहारिक रूपमा स्थापित भएपछि हिजो संविधानसभा नै नचाहनेहरू पनि यसतर्फ आए। निर्वाचनमा पराजयपछि उनीहरू संविधानसभाबाट अगाडि बढ्दा आफ्नो स्वार्थ पूरा नहुनेमा सशङ्कित मात्रै होइन, त्यो बाटोमा जान अनिच्छुक नै देखिएका छन्। त्यसैले उनीहरू संविधानसभा विघटन गर्नको निम्ति १४ जेठपछि एउटा संवैधानिक शून्यता ल्याएर देशलाई पछाडि फर्काउने प्रयत्नमा छन्। यस किसिमका सबै प्रयत्नहरू विफल पारी संविधानसभाबाटै नयाँ संविधान बनाएर जाने बाटो सुनिश्चित गर्नुपर्छ।

मा'वादीभित्रकै उग्रपन्थी खेमा अब संविधान नबनाउने, क्रान्ति गर्ने भन्दै छन्!
संविधानसभाबाटै संविधान बनाएर जानुपर्छ भन्ने पहिलो कुरा हो। दोस्रो कुरा कस्तो संविधान बनाउने भन्ने हो। यथास्थितिवादी संविधानको पक्षमा हामी छैनौं। सबैखाले उत्पीडन अन्त्य भएको अग्रगामी र प्रगतिशील संविधान बन्नुपर्‍यो भन्ने हाम्रो मान्यता हो। त्यसको निम्ति हामी अन्तिमसम्म प्रयत्न गर्छौं। दक्षिणपन्थी कोणबाट संविधानसभा नै विघटन गर्ने अथवा यथास्थितिवादी संविधान बनाउने प्रयत्न हुनसक्छ भने केही आलाकाँचा क्रान्तिकारीहरूबाट पनि संविधानसभाको कुनै औचित्य छैन, अब सीधै क्रान्तिको बाटोमा जानुपर्छ भन्ने सोच आउन सक्छ। तर संविधान बनाउने कामलाई बीचैमा छोडेर अर्को बाटोमा लाग्ने भन्ने पार्टीको आधिकारिक लाइन होइन।

तपाईले भन्नुभएको आधिकारिक लाइन कहाँबाट तय भएको हो?
केन्द्रीय समितिदेखि राष्ट्रिय भेलाबाट पारित हुँदै आएको हो। २०५७ सालमा अगाडि सारेको संविधानसभाको नारा चुनवाङ बैठकपछि आधिकारिक ढङ्गबाट आएको हो। त्यसपछि संविधानसभाको निर्वाचनमा सहभागी हुन प्रतिबद्धता पत्र प्रस्तुत गर्‍यौं। संविधानसभाका विभिन्न समितिमार्फत हामीले मत राखिसकेका छौं, संविधान निर्माण सुझ्ाव समितिको संयोजक अहिले पनि म छु। मैले भन्ने कुरो आधिकारिक होइन भन्नुहुन्छ भने म के भनौं?

उग्रवामपन्थी र दक्षिणपन्थी विचार हावी हुँदै जाँदा देश मुठभेडतर्फ अघि बढेकै हो?
केही समययता त्यो दिशातिर गएकै छ। राष्ट्रपतिको कदम जुन परिवेशमा चालियो, राजनीतिक घटनाक्रम त्यसरी नै अगाडि बढेको छ। त्यसले देशलाई क्रमशः द्वन्द्वतिर लगेको छ। त्यसलाई रोक्नका लागि सबै पार्टीभित्रका देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट भई अन्तिमसम्म प्रयत्न गर्नुपर्छ।

प्रसङ्ग बदलौं, पटक पटक विवादमा आइरहनुहुन्छ, त्यो पनि पार्टी भित्रैबाट किन?
चर्चामा आउने दुइटा तरिका हुन्छन्; एउटा आफैंले राम्रो काम गरेर अर्को; राम्रो काम गर्ने मान्छेलाई गाली गरेर। नेपालका अहिलेका राजनीतिकर्मीहरूमध्येमा जीवनको पाना सबभन्दा बढी खुला भएको सायद मै छु। मेरो ५५ वर्षे जीवनमा चारित्रिक, नैतिक र अन्य कुनै पनि हिसाबले अहिलेसम्म दाग लागेको छैन। ती मान्छेहरू मलाई विवादमा ल्याउँछन् जो निम्न पूँजीवादी, सामन्ती संस्कारमा हुर्केका छन्, जसमा रिस, डाह र इर्ष्या छ। उनीहरू निष्कलङ्कित मान्छेलाई केही भनेपछि चर्चामा आउन पाइन्छ भनेर त्यसो गर्छन् जस्तो लाग्छ। कम्युनिष्ट पार्टी पनि यही धरातलमा जन्मिएको हो। यसमा पनि निम्न पूँजीवादी चिन्तन, सामन्तवादी संस्कृति बोकेका मानिसहरू आउँछन्। त्यो स्वाभाविक हो। त्यसैले पार्टीभित्र विवादमा तान्ने भन्ने कुरा होइन तर, मेरो बारेमा थोरै कुरा उठ्नेवित्तिकै अलि बढी चर्चा हुने गरेको चाहिँ हो। यो सकारात्मक ढङ्गले हो, मलाई बढी माया गरेर हो या किन हो त्यो चाहिँ इतिहासले नै फैसला गर्ला।

किन यस्तो हुन्छ?
वर्गीय समाजमा हामी सबै वर्गीय हुन्छौं, सबैलाई खुसी पार्न सकिँदैन। नेपाली समाज अहिले अर्ध-सामन्ती, अर्ध-औपनिवेशिक अवस्थामा छ, देशभित्र वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन छ। सुगौली सन्धियताको बढ्दो बाह्य हस्तक्षेप र उत्पीडन विरुद्ध लड्न राष्ट्रिय जनमत तयार गरिनुपर्छ, राष्ट्रिय स्वाधीनताको जागरण ल्याउनुपर्छ। तर आन्तरिक रूपमा खासगरी उत्पीडित वर्गको समस्या हल नगरेसम्म हाम्रो देश एकताबद्ध हुँदैन। जुन लोकतान्त्रिक जगमा, जनवादको जगमा गर्न सकिन्छ। त्यसैले आन्तरिक अन्तरविरोध नै प्रधान होभन्ने मेरो मान्यता हो।

यसमा असहमत हुनेहरू नानाथरी भन्दै हिँड्छन्। जस्तो नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल यो पक्षमा देखिँदा राष्ट्रियताको पक्ष प्रधान हो भन्ने केशरजङ्ग रायमाझ्ीको लाइनले उनलाई गद्दार र दलाल पनि भन्यो। बाह्य हस्तक्षेपको विरोध गर्नुपर्छ, सतर्क हुनुपर्छ, तयारी गर्नुपर्छ तर पहिले आन्तरिक अन्तरविरोध हल गरेर मात्रै बाह्य अन्तरविरोध हल गर्न सकिन्छ भन्ने मेरो बुझ्ाइ हो। यही विषयलाई लिएर सायद विवाद उठेको हो, यही कारण ती शक्तिहरूले मलाई आरोप लगाउने गरेका हुनसक्छन्।

अध्यक्षका पछिल्ला अभिव्यक्तिहरू सुन्दा त तपाईंको बुझ्ााइलाई लो प्रोफाइलमा राखिएको छ त?
अहिले हामी छलफलकै क्रममा छौं। राष्ट्रियता र जनतन्त्रका विषय आपसमा जोडिएका हुन्छन्। जनयुद्ध थाल्नुअघि प्रस्तुत ४० बुँदे मागपत्रमा पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मागहरूलाई जोडेका थियौँ। यो अवस्थामा बाह्य अन्तरविरोध नै प्रधान हो कि भन्ने बहस र चर्चा त उठेको छ, तर निष्कर्षमा पुगेका छैनौं। र, छलफलकै निम्ति म के कुरा उठाउन चाहन्छु भने बाह्य पक्षबाट सतर्क हुँदै जानुपर्छ, त्यो खतरा बढ्दै गएको छ तर त्यो सतर्कताको पाटो हो। मुख्य रूपमा आन्तरिक अन्तरविरोध नै अहिले पनि प्रधान हो, सामन्तवादका सबै अवशेष अन्त्य गर्ने र वैदेशिक आडमा फस्टाएको दलाल र नोकरशाही पूँजीको अन्त्य गर्ने, राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने र देशमा गरिबी, बेरोजगारी र असमानताको अन्त्य गरेर एउटा नयाँ समुन्नत नेपाल निर्माण गर्ने कामलाई प्रधानता दिनुपर्छ।

पार्टीले अर्को लाइन लियो भने के गर्नुहुन्छ?
त्यो अवस्था आउँछ भन्ने लाग्दैन। मैले जसरी सोचिराखेको छु, हाम्रो पार्टीले पनि मूल रूपमा त्यही ढङ्गले सोच्छ भन्नेमा म विश्वस्त छु। अहिलेसम्म त्यही हुँदै आएको छ र भोलि पनि मैले राखेका कुरा नै पार्टीको आधिकारिक मत बन्छ भन्नेमा म विश्वस्त छु। पार्टी पद्धतिमा पार्टीको नियम मान्नुपर्छ। तर, आफ्नो मत चाहिँ छलफल गर्न पाइन्छ। नेपालमा भोलि ठाडै बाह्य हस्तक्षेप भयो, विदेशी सेना पस्यो भने त्यतिबेला त बाह्य अन्तरविरोध नै प्रधान हुन्छ, त्यसमा कुनै शङ्कै छैन। तर अहिले चाहिँ सामन्तवादका अवशेषको अन्त्य गर्ने र विदेशी शक्तिको आडमा फस्टाएको दलाल र नोकरशाही पूँजीको अन्त्य गरेर राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने बाटो नै सही हुन्छ।

अध्यक्षको पछिल्लो अभिव्यक्तिले त जबर्जस्त रूपमा तपाईंको चरित्रहत्या गर्‍यो नि होइन?
यसबारे म धेरै टिप्पणी गर्न चाहन्नँ। मलाई अहिले जुन ढङ्गले कतैबाट सञ्चालित छ कि भन्ने आरोप लगाउन खोज्छन्, यो शतप्रतिशत झ्ूठ मात्र नभएर त्यसमा मान्छेहरूको नियत पनि सफा छैन भन्ने लाग्छ। यो हुनु बडो दुःखद् कुरा हो, राजनीतिमा यस्तो हुनुहुँदैन। जे कुरामा चित्त बुझदैन, त्यसमा स्पष्ट ढङ्गले खुला रूपमा आलोचना गर्नु राम्रो हुन्छ। काल्पनिक कुराहरू अगाडि सारेर चरित्रहत्या गर्न खोज्ने, अर्कालाई 'रालेर आफू माथि उक्लन खोज्ने प्रवृत्ति राम्रो होइन। म यसको अन्त्य होस् भन्ने चाहन्छु। केन्द्रीय कमिटी बैठकमा पनि मैले राजनीतिक विवादलाई असाध्यै अस्वस्थ र अमैत्रीपूर्ण बनाउने कुसंस्कारको विरोध गरेको हुँ।

तपाईले भन्नुभएको जस्तो कुसंस्कार त तपाईंकै पार्टीमा छ!
त्यो त कम्युनिष्ट र समग्र लोकतान्त्रिक आन्दोलनमा छ। मैले जे सोच्दै आएको छु, त्यो नै वैज्ञानिक छ भन्ने कुरा एकातिर घटनाक्रमले पुष्टि हुँदै आएको छ भने दोस्रो मलाई जुन आक्षेप लगाउने गरिएको छ, त्यो कहीं पनि पुष्टि गरिराखेको छैन। त्यसकारण आफ्नो व्यक्तित्वबारे म चिन्तित छैन।

पछिल्लो पटक छताछुल्ल भएको विवादले त यत्रो सङ्घर्षका सहयात्रीहरूबीचको सम्बन्ध निकै यान्त्रिक रहेको देखिन्छ नि!
मार्क्सवादी दर्शन अनुसार कुनै पनि वस्तुको दुइटा पाटो हुन्छ; सकारात्मक र नकारात्मक। राम्रो मान्छेका केही नराम्रा पक्ष हुन्छन्, नराम्रो मान्छेका केही राम्रा। बेलाबखतमा देखिने यस्ता नराम्रा पक्षहरूलाई बढी प्राथमिकता दिनुहुँदैन, मूल रूपमा कम्युनिष्ट क्रान्तिकारीहरूको राम्रो पाटो नै प्रधान हुन्छ। द्वन्द्वात्मक भौतिकवादको नियमअनुसार कम्युनिष्टमा देखिने जुन कमजोरी पाटो हुन्छन्, त्यसलाई विस्तारै एकता, सङ्घर्ष र रूपान्तरणको विधिले हल गर्दै जानुपर्छ।
हामीले खुला र स्पष्ट ढङ्गले आफ्ना कुरा राख्ने, एकताबद्ध हुने तरिकाले नै जानुपर्छ। अध्यक्षले त्यहाँ त्रुटि रह्यो भनेर सच्याइसक्नुभएको छ। त्यसैले म यसबारे बढी चर्चा गर्न चाहन्नँ।

अध्यक्ष दाहाल बेलाबेलामा आफू असुरक्षित छु भन्नुहुन्छ। तपाईं चाहिं, कत्तिको सुरक्षित हुनुहुन्छ?
हामी क्रान्तिकारीहरू ज्यान हत्केलामा राखेर सचेत र स्वेच्छिक ढङ्गले हिँडेको हो। त्यसकारण आफूलाई सुरक्षित/असुरक्षित भन्ने प्रश्न आउँदैन। गलतका विरुद्ध सङ्घर्ष गर्न हिँड्दा अर्को पक्षले आक्रमण गर्ने, जीवन नै अवसान गरिदिने सम्भावना जहिले पनि रहन्छ। आवश्यक पर्दा मर्न तयार भएरै हिँडेको हुनाले मरिन्छ कि भनेर किन डराउने?

१४ जेठमै संविधान जारी गर्न र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन एनेकपा मा'वादीले के के गर्नुपर्छ?
हामी आफैँले लडेर ल्याएको संविधानसभालाई सफल पार्ने र संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। त्यसैगरी जनमुक्ति सेनाको समायोजन र पुरानो नेपाली सेनाको लोकतन्त्रीकरण गरेर नयाँ राष्ट्रिय सेना बनाउनुपर्छ, त्यसले देशमा शान्ति सुनिश्चित गर्छ। तेस्रो कुरा, देश गरिबी, बेरोजगारी, विपन्नताबाट पीडित छ, यसलाई अन्त्य गर्न हाम्रो सम्पूर्ण ध्यान निश्चित समयका निम्ति तीव्र आर्थिक विकासमा लगाउनुपर्छ, ताकि हामी एक्काइसौं शताब्दीमा विश्वसामु शिर ठाडो पार्ने हैसियतमा पुगौं। मेरो विचारमा यी तीन कार्यभार नेपाली जनताको निम्ति सबैभन्दा महत्वपूर्ण हुन्।

तपाईंले भन्नुभए जस्तो नीति र कामतर्फ एनेकपा मा'वादी अगाडि बढ्न सकेन भने के गर्नुहुन्छ?
बढ्छ, बढ्नुपर्छ र त्यो नै देशको निम्ति सही निकास हुन सक्छ। यदि त्यसो भएन भने देश द्वन्द्वतिर जान्छ। अब हुने द्वन्द्वले कसैको पनि हित गर्दैन।

किरण नेपाल, रामेश्वर बोहरा र सरोज दाहाल

-१५, माघ २०६६, हिमाल खबरपत्रिका

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 2 )
 
Nani Babu  [From: Ktm] Says:
 
 
Prachanda ra Baburm bich jhagada parera tali thokneharuko ichha puraune kam nahos. Tapai 2 Neta milera nai janu parcha.
 

 
bhola sharma  [From: norway oslo] Says:
 
 
देशभक्त डा बाबुराम ज्युलाइ सलाम!!!!! काल्पनिक कुराहरू अगाडि सारेर चरित्रहत्या गर्न खोज्ने, अर्कालाई 'रालेर आफू माथि उक्लन खोज्ने सत्ता र पदका प्रमी ब्वासाहरु हो सक्छौ भने केहि राम्रो कम गर होइन भने कदापी देशभक्त लाइ भाजो हाल्ने कम नगर !
 
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।