काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले ४० वर्षअघि बनाएको आफ्नो जीवनका मुख्य दुई लक्ष्यप्रति अविचलित भएर नै आफ्नो जीवनयात्रा अघि बढेको बताउनुभएको छ । ‘४० वर्षअघि नै मैले जीवनको दुई लक्ष्य निर्धारण गरेको थिएँ’, पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’को सार्वजनिकीकरण कार्यक्रममा पुस्तकमा छापिएको २०३५ साल बैशाख १ गतेको डायरी उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘मैले लिएको लक्ष्य थियो – संसारमा शाश्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने । म यही लक्ष्यमा अविचलित र लक्ष्यतर्फ अविराम यात्रामा छु ।’
‘बीपी कोइरालाले राजतन्त्रसँग लड्ने बाटो छाडिसकेपछि म राजतन्त्रको अन्त्यकै लागि कम्युनिष्ट पार्टीमा आवद्ध भएँ’, उहाँले भन्नुभयो – ‘माक्र्सवादलाई कम्युनिष्ट पार्टीहरुले जसरी भ्रष्टीकरण गरिरहेका छन् त्यसलाई पनि सच्याएर जानुपर्छ भन्ने मेरो बुझाई थियो ।’
माओवादी परित्याग गरे पनि बाबुरामले विचार छाडेको भन्ने आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो – ‘जबसम्म मानिस रहिरहन्छ, विचारधाराको अन्त्य हुँदैन । किनकि विकासको नियम नै विचारधारा हो ।’ विचार र विज्ञान समयअनुसार परिवर्तन भइरहने उल्लेख गर्दै उहाँले अब माक्र्सवाद भनेर मात्रै नहुने बताउनुभयो । अब आफूले माक्र्सवादकै नाममा भन्दा पनि त्यसको गुदी तत्व ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवादलाई आधार बनाएर अघि बढ्ने पनि बताउनुभयो । द्वन्द्वात्मक भौतिकवादको समृद्धिकरण नै नयाँ शक्तिको राजनीतिक दर्शन हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्ने क्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य मनु हुमागाईंले पुस्तकले अन्तरमुखी स्वभावको बाबुरामको व्यक्तित्वबारे जान्न मद्दत पुगेको बताउनुभयो । पुस्तकले राजनीतिक जीवनमा बाबुराम भट्टराईले गरेको त्यागलाई सम्झाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘बाबुराम भट्टराईले आफ्नो विद्यावारिधी गरिसकेपछि आएको लाखौं रुपैंया, गाडी, बंगलाको अफरलाई अस्वीकार गरेर समाज परिवर्तनका लागि भन्दै राजनीतिमा लाग्नुभयो ।’ उहाँले पुस्तकलाई बाबुराम भट्टराईको जन्मदेखि विद्यार्थी जीवनसम्मको पहिलो खण्ड र राजनीतिक जीवनको दोस्रो खण्ड गरी दुई भागमा बुझ्दा सहज हुने समेत बताउनुभयो ।
त्यसैगरी एमाले नेता प्रदीप ज्ञवालीले पुस्तकमा एउटा सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने अभिलाषा बोकेर राजनीतिमा लागेको राजनीतिज्ञले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि युद्धरत पार्टीभित्र र बाहिरबाट गरेको संघर्षको चर्चा पुस्तकले गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाबुराम भट्टराईले यो परिवर्तनका लागि पार्टीभित्रै अन्तरसंघर्ष गरेर पार्टीलाई यो मार्गमा डाइभर्ट नगरेको भए मुलुकमा ठूलो रक्तपात हुने र त्यसले एक खालको अधिनायकवादको जन्म हुने खतरा थियो ।’ एउटा हिंसात्मक तरिकाले अघि बढिरहेको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बाबुराम भट्टराईले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पुराना कांग्रेस नेता दुर्गा सुवेदीले बाबुराम जहाँ भएपनि नेपालको इतिहाससँग जोडिएको मान्छे भएकोले यो पुस्तकबाट धेरै तथ्यहरु उद्घाटित हुनसक्ने बताउनुभयो । ‘बाबुराम भट्टराईलाई म ४० वर्षदेखि चिन्दछु’, उहाँले भन्नुभयो – ‘बाबुराम भित्रैबाट यो देशको सम्मान र उन्नति चाहने व्यक्ति हो । यो देश बन्नुपर्छ भन्ने सोचाइ राख्ने मान्छे हो ।’ बाबुराम भट्टराईले लिएको लक्ष्य र बाटोले मुलुकको हित गर्नुपर्नेतर्फ संकेत गर्दै उहाँले भन्नुभयो – ‘सबै पार्टीहरु भ्रष्टीकरण भइसकेका छन्, बाबुरामले बनाउन खोजेको नयाँ शक्ति त्यस्तो भ्रष्टीकरणमा नपरोस् र बाबुरामको भिजन पूरा होस् ।’
पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’लाई डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईले सार्वजनिक गर्नुभएको थियो ।