पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि विभेद बाँकी राखेर राष्ट्रिय एकता बलियो नहुने बताउनुभएको छ । ‘राज्यसत्तामा बस्नेले आफूलाई मात्रै खाँटी नेपाली देख्न थालेकोले जनजाति, मधेसीलगायतले पहिचानको मुद्दालाई जोड दिइरहेका छन्’, डा. भट्टराईको सम्मानमा तमू धीः नेपाल पोखराले शनिबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले भन्नुभयो - ‘देश बनाउन सबैभन्दा बढी रगत बगाउनेमा जनजातिहरु पर्दछन् र उनीहरुलाई सधै विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुँदैन ।’
उहाँले नेपाल राष्ट्र निर्माण गर्नको लागि फरक-फरक कालखण्डमा सबैले भूमिका खेलेकोले यो देश कुनै खास वर्ग र जातिको मात्रै नभएको पनि बताउनुभयो । उहाँले समानुपातिक, समावेशी, सहभागितामूलक र पहिचानसहितको नयाँ नेपाल निर्माणका लागि तमूहरुले उठाएको मुद्दामा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।
डा. भट्टराईले आर्थिक विकास र समृद्धिका लागि अधिकारसहितको राष्ट्रिय एकता बलियो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तमू धीःका अध्यक्ष कर्म तमूले भट्टराईलाई भाङ्ग्रा लगाएर सम्मान गर्नुभयो ।