नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले साताव्यापी भारत भ्रमणका क्रममा भारतका उद्योगी व्यवसायीहरुसँग नयाँ दिल्लीमा अन्तरक्रिया गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । ‘नेपाललाई विकासको उच्च तहमा पुर्याउनु अबको आवश्यकता हो’ उहाँले भन्नुभयो – ‘यदि तपाईंहरुलाई कुनै स्पष्टीकरण जरुरी छ भने हामी त्यो प्रस्ट पार्न चाहन्छौं, अब निजी क्षेत्रको सहभागितामा नै विकास र समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले म तपाईंहरुलाई नेपालमा लगानी बढाउन आग्रह गर्न चाहन्छु ।’
नेपालको विकास र समृद्धि नै आफ्नो लक्ष्य भएकोले त्यही प्राप्त गर्नका लागि आफू राजनीतिमा होमिएको उहाँले बताउनुभयो ।
उहाँले संविधान जारी भएसँगै देशमा राजनीतिक परिवर्तनको युग अन्त्य भएकोले अब तीव्र आर्थिक विकासको चरणमा मुलुक प्रवेश गरेको बताउनुभयो । त्यही विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि नै वैकल्पिक राजनीतिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी स्थापना भएको उहाँले बताउनुभयो ।
संयोजक भट्टराईले नेपाल–भारतबीचको सम्बन्ध आफैंमा अन्योन्याश्रित भएकोले पनि नेपालको विकासका लागि भारतको लगानी अपरिहार्य रहेको बताउनुभयो । ‘भारतीय कम्पनीहरुले नेपालमा लगानी गर्नुपर्छ, निजी क्षेत्रको नेतृत्वदायी भूमिका नहुँदासम्म देशको विकास र समृद्धि हासिल हुन सक्दैन’, उहाँले भन्नुभयो – ‘म तपाईंहरुलाई लगानीका लागि आग्रह गर्न चाहन्छु ।’
विगतमा राजनीतिक अस्थिरता र लामो संक्रमणका कारण नेपालमा लगानीका लागि केही समस्या रहेको बताउँदै उहाँले अहिले त्यो समस्या करिब–करिब अन्त्य भएको बताउनुभयो । उहाँले विश्वास दिलाउँदै भन्नुभयो – ‘मधेश आन्दोलनको समाधानसँगै राजनीतिक अव्यवस्थाको अन्त्य हुनेछ र लगानीका लागि उपयुक्त वातावरण सिर्जना हुनेछ ।’
जीवनमा आफ्नो लक्ष्य नै देशको समृद्धि रहेको कुरालाई दोहोर्याउँदै उहाँले भन्नुभयो – ‘म शक्तिमा रहुँ वा नरहुँ मेरो सपना भनेको विकास र समृद्धि नै हो । भारतको लागि पनि नेपाल एउटा राम्रो बजार भएकोले नेपालको आर्थिक विकास हुँदा नै भारतलाई फाइदा हुन्छ ।’
अन्तरक्रियामा नयाँ शक्ति पार्टीका नेताहरु डा. प्रवीण मिश्र, हिसिला यमी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा डा. बाबुराम भट्टराईका सल्लाहकार (निजी क्षेत्र) सुरज वैद्य, भाष्करराज राजकर्णिकार लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी भारतका प्रतिष्ठित निर्माण, जलविद्युत, परामर्श, उत्पादनसम्बद्ध उद्योग प्रतिष्ठानका प्रमुखहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विशेषगरी नेपालको जलविद्युत तथा वैकल्पिक ऊर्जाको सम्भावनाको बारेमा छलफल भएको थियो । सहभागीहरुले नेपालमा सञ्चालित परियोजनाहरु प्रक्रियागत रुपमा विलम्ब हुने भएकोले त्यसलाई सहजीकरण गर्नु जरुरी भएको बताएका थिए ।