संविधानसभाबाट संविधान जारी भएपछि पनि मुख्यत: तराई–मधेश र देशका विभिन्न ठाउँहरुमा चलिरहेका आन्दोलनहरु साम्य हुनुसट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भएको छ । विगतको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतको जनताको संघर्षको क्रममा उठेका मुद्दाहरुलाई नयाँ संविधानमा पर्याप्त रुपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको पूरै प्रक्रियामा सबै सरोकारवालाहरुलाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण हो । संविधानसभाको विधि र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी लोकतन्त्रको मुद्दाको प्रमुख वाहक शक्तिको नाताले हाम्रो पार्टी एनेकपा (माओवादी) र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा मैले अन्तिमसम्म सबै पक्षलाई समेटेर लैजाने अथक प्रयत्न गर्दागर्दै पनि त्यसमा सफल हुन नसकेकोमा गहिरो दु:ख व्यक्त गर्दछु ।
विगतको जनयुद्ध र अन्य आन्दोलनहरुबाट प्राप्त कतिपय उपलब्धीहरुको रक्षा गर्न र प्रतिगामी तथा यथास्थितिवादीहरुको सम्भावित षड्यन्त्रलाई असफल पार्न एनेकपा (माओवादी)का सभासद्हरुले संविधानसभाका प्रक्रियाहरुमा सहभागी भएर मतदान गरे पनि पार्टीले विधिवत् रुपमा संविधानसभामा आफ्ना भिन्न मत र असहमतिहरु दर्ज गराएको स्मरण पनि सबैलाई गराउन चाहन्छु ।
संविधान कुनै ढुंगामा कुँदेको अक्षर नभएर एउटा गतिशील दस्तावेज हुनाले त्यसमा आवश्यकता अनुसार परिमार्जन र संशोधन हुनसक्छ । राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा कहिल्यै पनि भएको छैन र अब पनि हुन सक्दैन । सानो घाउको उपचार बेलैमा नभएमा त्यो दु:साध्य रोग बन्न सक्छ । आधा जनसंख्या बसोबास गर्ने तराई–मधेश जलिरहँदा पहाड–हिमाल चैनले सुत्न सक्दैन र हुँदैन । आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थिति निर्माण गर्नु बुद्धिमानी र शोभनीय हुँदैन । छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त हुंदैन । घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र अभिभावकहरुको नै हुन्छ ।
त्यसैले विशेषत: तराई–मधेश र देशका अन्य भागमा भइरहेका आन्दोलनहरुमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण बनाउन सरकारले तुरुन्त तनाव शिथिलीकरणको पहल गरोस् र दुबै पक्षबाट शीघ्र वार्ता र संवादको थालनी होस् भन्ने म गम्भीर आग्रह गर्दछु । हाम्रो पार्टी एनेकपा (माओवादी)ले संविधानसभामा विधिवत् दर्ज गरेको भिन्न मत र असहमतिहरुसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु । आन्दोलनको क्रममा मारिएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा गहिरो समवेदना साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस्तो विषम घडीमा तराई–मधेश, हिमाल, पहाड एक भएर राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न र शान्त तथा सम्वृद्ध नयाँ नेपालको निर्माणमा अग्रसर हुन सबैसँग आग्रह गर्दछु ।
२०७२ असोज ७
––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
पूर्व प्रधानमन्त्री तथा
बरिष्ठ नेता, एनेकपा (माओवादी)