काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहनुभएका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उहाँको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताउनुभयो । उहाँले उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिनुभयो । शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा डा. राकेश बर्माले विशिष्ट व्यक्तिहरु सामान्य उपचारका लागि समेत विदेश गइरहेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेजर शल्यक्रिया नेपालमै गराउँदा आफूलाई खुशी लागेको र हौसला मिलेको बताउनुभयो । नेपाली चिकित्सकहरु पनि दक्ष रहेको बताउँदै उहाँले नेपाली चिकित्सकहरुलाई विश्वास गर्नुभएकोमा पूर्वप्रधानमन्त्री भट्टराईलाई विशेष धन्यवाद दिनुभयो ।