३० चैत २०७४ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ भारतको बैंगलोर जाँदै हुनुहुन्छ । संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनुहुनेछ ।
संयोजक भट्टराई भारतमा एक साता रहनुहुनेछ । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । संयोजक भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नुहुनेछ । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन भ्रमण गर्नुहुनेछ । उहाँले विशेषत: दक्षिण भारतको विकाससम्बन्धी अध्ययनका साथै महत्वपूर्ण पर्यटकीय स्थानको समेत अवलोकन भ्रमण गर्नुहुनेछ ।
संयोजक भट्टराईसँगै नयाँ शक्ति पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी पनि भारत जानुहुनेछ ।
संयोजक भट्टराईसँगै ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानुहुनेछ ।
संयोजक भट्टराई बैशाख ८ गते साँझ काठमाडौं आइपुग्नुहुनेछ ।