काठमाडौं, १२ असोज । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा जनकपुरमा संविधान जलाउने भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको छ । यो समाचार शत प्रतिशत गलत हो । पूर्वप्रधानमन्त्री भट्टराई र भट्टराई समर्थित मधेशी नेताहरु कसैको पनि संविधान जलाउने कुरामा समर्थन रहँदैन ।
भट्टराई समर्थक मधेशी मोर्चाको त्यस खालको कुनै कार्यक्रम छैन । पूर्वप्रधानमन्त्री भट्टराईको एक मात्र लक्ष्य पहाड र तराई–मधेशको दूरी कम गरेर राष्ट्रिय एकतालाई मजबुत पार्ने, अखण्डतालाई जोगाउने र हिमाल, पहाड, तराई–मधेशका सबै नेपालीले नयाँ संविधानको स्वामित्व ग्रहण गर्ने र दिपावली मनाउने वातावरण बनाउनु हो । यसबाहेक संविधान जलाउने कुरामा भट्टराईको समर्थन छैन ।